भरतपुर ९ पुस ः
गुरुङ समुदायको महान् चाड तमु लोसारको अवसरमा यस वर्ष चितवनमा रहेका दुई गुरुङ संस्था तमु ह्युल छो धीं गुरुङ राष्ट्रिय परिषद् चितवन र तमु प्ये ल्हु संघ चितवनले संयुक्त रूपमा लोसार मनाउने भएका छन् ।
यस सम्बन्धमा मंगलबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । पुस १२ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी लोसार मनाइने आयोजकले बताएका छन् । कार्यक्रम भरतपुरस्थित बीरेन्द्र बहुमुखी डिग्री क्याम्पसको चौरमा आयोजना गरिनेछ ।
तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङ र तमु ह्युल छो धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष बुद्धिमान गुरुङले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत यस वर्ष लोसार सँगै मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा चितवनसँगै छिमेकी जिल्ला तनहुँ र नवलपुरबाट पनि उल्लेख्य सहभागिता रहने जानकारी दिइयो । सो अवसरमा गुरुङ समुदायको संस्कृति झल्काउने विभिन्न नृत्यहरू, ठाडो भाका, चुड्का लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले बताएका छन् ।
तमु ह्युल छो धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका वरिष्ठ उपाध्यक्ष कृष्ण घोताने गुरुङले चितवन तथा छिमेकी जिल्लामा छरिएर रहेका गुरुङहरू एकजुट भएर चाड मनाउन लागिएको बताउनुभयो। उहाँका अनुसार चितवनमा मात्रै करिब ५५ हजारको हाराहारीमा गुरुङ समुदायको बसोबास रहेको छ ।

उहाँले छिमेकी जिल्लाहरूबाट समेत तमु लोसार मनाउन तथा मेलाको रूपमा सहभागी हुन आउनेको संख्या उल्लेख्य रहने जानकारी दिनुभयो। सो अवसरमा गुरुङ समुदायको मौलिक संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !