चितवनः क्रिकेट क्लब चितवन राईनोजले आफ्ना समर्थकहरुलाई काठमाण्डौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।
राईनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । खेल समाप्त भएपछि पुनः चितवन ल्याईने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाईन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।
बस चितवन मेडिकल कलेज (सीएमसी) को प्राङ्गणबाट छुट्ने छ भने समर्थकहरूलाई त्रिवि मैदानसम्म लैजाने छ । चितवन राईनोजको पहिलो खेल आज मंसिर २ गते ११ः४५ बजे कर्णाली याक्ससँग हुँदैछ । यसैगरी मंसिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मंसिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मंसिर १२ गते ११ः४५ बजे काठमाण्डौं गोर्खाजसँग चितवन राईनोज खेल्दैछ । यसैगरी मंसिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मंसिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मंसिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राईनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।
खेलको पूर्व सन्ध्यामा चितवन र आसपासका जिल्लाहरुमा चितवन राईनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् ।







