काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
यसअघि बीमितले पहिलोपटक स्वास्थ्य बीमा सेवा सुरु गर्दा अनिवार्य रूपमा आफूले बीमा गरेको स्थानकै ‘प्रथम सेवा बिन्दु’मा जानुपर्थ्यो । तर अब स्वास्थ्य बीमा प्रणालीलाई थप लचिलो बनाउँदै उक्त बाध्यता हटाइएको हो । तर प्रथम सेवा लिनका लागि भने सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्छ ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा भएको संशोधनअनुसार बीमितलाई तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यता हटाइएको छ ।
बीमा अवधि भरिमा देशभरि जहाँ भए पनि नजिकको अनुमतिप्राप्त सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाबाटै सेवा लिन सकिनेछ ।
बीमितलाई निरन्तर गुनासो आइरहने र सरलरूपमा सेवा उपभोग गर्न सहज वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बीमा बोर्डका सुचना अधिकारी विकेश मल्लले बताए ।







