चितवनः भारतीयमा बर्डफ्लू देखा परेपछि रोग भित्रिन नदिन पोल्ट्री व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई आज आग्रह गरेका छन् । नाकाहरुबाट सेतो अण्डा, मासु र चल्ला अवैध रुपमा चोरीनिकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै उनीहरुले गृहमन्त्री लेखकको ध्यानाकर्षण गरेका हुन् ।
घेटमा उनीहरुले नाकामा कडाई गर्न आग्रह गरेका छन् । भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी संगठनका प्रमुखहरुलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रुपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताउनुभयो । भेटका क्रममा गृहमन्त्री लेखकले यस अघि पनि आफूले यस विषयमा सुनेको भन्दै नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।
पोखरेलले भन्नुभयो “मन्त्रीज्यूले हामीलाई आश्वस्त पार्नुभएको छ, हामी ढुक्क भएर फर्किएका छौं ।” पोखरेलका अनुसार भारतीयको उत्तर प्रदेश र विहारमा बर्डफ्लू देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारहरुमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आएको उहाँले जानकारी दिनुभयो । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित बनाएको पोखरेल बताउनुहुन्छ ।
भेटका क्रममा पोल्ट्री व्यवसायी मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र संघका अध्यक्ष पोखरेलले मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । ह्याचरी उद्योग संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका लामिछानेका अनुसार अण्डा, मासु र चल्ला सीमा क्षेत्रबाट खुल्ला रुपमा भित्रिईरहेको छ । सुरक्षा निकायले सीमा क्षेत्रमा कडाई नगरेपछि मन्त्रीलाई भेट्नु परेको उहाँले बताउनुभयो ।
भेटमा संघका महासचिव भेषराज अर्याल सहित पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !