चितवनः नेपाल प्रहरी राजमार्गसुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको “जस आउँछ” अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याईएको यस अभियानले प्रहरी भित्रको सुदृढिकरण र व्यवसायीक प्रहरी वन्नाउन सहयोग गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक शुशिल सिंह राठौंरका अनुसार जग्गा प्राप्ती तथा भौतीक निर्माण, सवारी दुर्घटना न्यूनिकरण, आर्थिक शुद्धीकरण, उन्नत व्यवहार र छलफल गरी प्रहरीलाई व्यवसायीक बनाउन यो अभियान सञ्चालनमा ल्याईएको हो ।
बागमती प्रदेशमा रहेका काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा यो अभियान सञ्चालनमा ल्याईएको छ । अभियानका क्रममा कार्यालयले रामनगरमा सतनचुली सामुदायीक वनको १० कठ्ठा जग्गा प्राप्ती गरेको छ । यस्तै सिन्धुलीको दुधौली र काभ्रेमा कार्यालय स्थापनाका लागि जग्गा प्राप्ती भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्री परिषदको यही असार २१ गतेको निर्णयले रामनगरमा जग्गा उपलव्ध गराएको हो । सरकारको निर्णय संगै कार्यालयले अस्थायी संरचना निर्माणको काम सुरु गरेको छ ।
सवारी दुर्घटना न्यूनिकरणका लागि हरेक जिल्लामा छड्ेक चेक जाँच, नियमित चेकजाँच, कारवाही, चालक र यात्रु संग ५÷५ मिनेट, चालक र सहचालकको स्वास्थ्य परिक्षण, सवारी साधनको यन्त्रिक परिक्षण गर्दै आएको छ । बिद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन, सरोकारवाला निकायसंग मिली ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना मुलक होडीङ्गबोड, सिसिटिभि जडान जस्ता कार्य सम्पन्न गरीएको कार्यालयले जनाएको छ । अभियानका क्रममा हाल सम्म १ हजार ९७० जना चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएकोमा ६२२ जनाको आँखामा समस्या देखिएको थियो । जस मध्य ४५७ जनामा उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको छ ।
यस्तै सवारी साधनको यान्त्रीक परिक्षणका क्रममा अबस्था ठिक नभएका १ हजार ८२३ वटा सवारी साधनलाई कारबाही गरीएको छ । गत फागुनबाट सुरु गरिएको अभियानका क्रममा दुर्घटना न्यूनिकरणका लागि ३ हजार २२४ पटक सचेतना कार्यक्रम गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो क्रममा ३ लाख ६ हजार ८३८ जनालाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराईएको छ । राठौरका अनुसार आर्थीक शुद्धिकरण अभियान अन्तर्गत १२ जना प्रहरीलाई कारवाही गरिएको छ भने एक सवारी चालकलाई पक्राउ गरीएको छ । ट्राफिक प्रहरीलाई घुस दिने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाईएको उहाँले जानकारी दिनुभयो ।
सून्य सहनहिलता कायम गर्न प्रहरीलाई प्रहरीकै निगरानीमा राखिएको छ । सादा पोसाकमा रहेका प्रहरीलाई यात्रु वा चालकको रुपमा पठाएर कर्मचारीको बारेमा जानकारी लिइने गरेको उहाँले बताउनुभयो । आर्थिक शुद्धिकरण अभियानका क्रममा प्रहरी कर्मचारीहरुसंग महिनाको एक पटक छलफल गरी उनीहरुको समस्या बारे जानकारी लिने गरिएको छ ।
ट्राफिक व्यवस्थापनका क्रममा प्रहरीले यात्रु र पिडित पक्षलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागि अन्नत व्यवहार कार्य सुरु गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “राम्रो मिठो बोलेर पनि सहजीकरण गर्न सकिन्छ ।” दुर्घटना वा अन्य कारणले भएको समस्या समाधानका क्रममा ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्न सके आम जनमानसले प्रहरी प्रति गर्ने व्यवहारमा परिवर्तन आउने उहाँको बुझाई छ ।
छलफलबाट हरेक समस्याको समाधान निस्कन सक्ने भएकाले प्रहरीलाई यस तर्फ समेत केन्द्रित गराईएको कार्यालयले जनाएको छ । बिशेष गरि समाजमा हुने अपराध न्यूनिकरण र दुर्घटना न्यूनिकरणका लागि छलफल आबश्यक रहेको उहाँले बताउनुभयो । छलफलबाट दिईएका सुझाबहरुलाई कार्यान्वयन गर्दै जाँदा समाजमा अपराध र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बिश्वासका साथ यस अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सवारी दुर्घटना बढि हुनुमा मुख्य चार कारण रहेको कार्यालयले जनाएको छ । जसमा मानवीय कारण, सडकको अबस्था, यान्त्रिक कारण, बातावरणीय कारण रहेका छन् । मानवीय कारण अन्तर्गत चालकको लापरवाही, तिब्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोवाईल फोनको प्रयोग, सवारी नियम उल्लङ्घनर यात्रुको गल्ति रहेको छ । सडकको अबस्थामा घुम्ति मोड, उकालो÷ओलारो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड बिपरित सडक, साँघुरो सडक रहेका छन् । यान्त्रिक गडवढी, सवारीको अबस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाईट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । यस्तै हुस्सु, बाढी पहिरो, बर्षा, आँधीबेहरीका कारणले समेत दुर्घटना हुने गरेको राठौंरले बताउनुभयो ।
पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्नेहो भने मुख्य राजमार्गमा सवारी दुर्घटना बढी भएको पाईन्छ । चालु आर्थिक वर्षमा १ हजार ३ सवारी दुर्घटना मुख्य राजमार्गमा भएका छन् भने ग्रामिण सडकमा ४८६ र शहरी सडकमा ८७ दुर्घटना भएका छन् । यस्तै गत आर्थिक वर्षमा ९३१ सवारी दुर्घटना मुख्य राजमार्गमा भएको छ । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा ४९२ दुर्घटना मुख्य राजमार्गमा भएका थिए ।
मुख्य राजमार्ग देखि ग्रामिण सडक सम्म हुने दुर्घटना न्यूनिकरणका लागि यो अभियान प्रभावकारी बनेको प्रहरी उपरिक्षक राठौंरले बताउनुभयो ।






