काठमाडौः प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किनुभएको हो । कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
खिम्ती सब–स्टेसन २२०–१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।
स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सब९ स्टेसन निर्माणको काम पूरा भएको हो ।
मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट काठमाडौं पनि जोड्नेछ ।
न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।






