भरतपुर, २२ मङ्सिर  । छोरीलाई शिक्षा दिन सकेको अवस्थामा हिंसा कम हुने एक कार्यक्रममा बताईएको छ ।
प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १२ ले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागिहरुले छोरी शिक्षामा जोड दिएका हुन् ।

कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले शिक्षाले धेरै समस्या हल हुने बताउनु भयो । उहाँले छोरी शिक्षामा जोड दिदै सहकारीले महिला हिंसा न्यूनिकरण गर्न महिलाहरु आर्थिक र शैक्षीक रुपमा बलियो हुनुपर्ने बताउनु भयो । उहाँले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाएको भन्दै महिलाहरु उद्यम गर्न चाहेमा सहकारीले पचाँस लाख सम्म ऋण प्रवाह गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिर्थी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवनका अध्यक्ष रामचन्द्र आचार्यले शिक्षा र छोरी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा आचार्यले शिक्षाको ईतिहास र महिलाको पहुँचका विषयमा समेट्नु भएको थियो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव कमलराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहकार्य रहेको थियो ।

अन्तरक्रिया सुरु हुनुपुर्व प्रभात फेरी कार्यक्रमको आयोजना गरीएको थियो । चौबिसकोठीबाट सुरु भएको र्याली संस्थाको कार्यालय भवनसम्म पुगेर अन्तरक्रियामापरिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !