चितवन: उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जीत हासिल गरेर चर्चामा आउनु भएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । संघका पूर्व अध्यक्ष गौतमले कल्पनै नगरिने गरी जीत हासिल गर्नुभएको थियो । नेपाली कांग्रेस चितवनको यही मंसिर १० गते हुने निर्वाचनमा उहाँ उपसभापति पदको उम्मेदवार हुनुहुन्छ ।
उद्योग वाणिज्य संघ खैरहनीका पूर्व अध्यक्ष गुणराज श्रेष्ठ नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित हुनुभएको छ । उद्योग वाणिज्य संघ रत्ननगरका पूर्व अध्यक्ष केशवनारायण श्रेष्ठ नेपाली कांग्रेस रत्ननगर वडा नं. २ का सभापतिमा निर्वाचित हुनुभएको छ ।
राजनीति गर्नेहरु यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दावी गरिएको छ । कतिपयले भने जीवनभर राजनीति गरेकाहरुलाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्ने तर्क अघि सारेका छन् । त्यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय एकाएक राजनीतिमा आएर राज्यमन्त्री हुनुहुन्छ । उहाँको राजनीतिक क्षेत्र चितवन हो ।
क्षेत्रीय होटल संघ सौराहाका तीन जना पूर्व अध्यक्ष अहिले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिंदै हुनुहुन्छ । संघका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार बिष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिंदै हुनुहुन्छ । संघका बरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिंदै हुनुहुन्छ ।
होटल व्यवसायी वासुदेव ढुंगाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिंदै हुनुहुन्छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहाका पूर्व अध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा हुनुहुन्छ ।
उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग संघ चितवनका पूर्व अध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिंदै हुनुहुन्छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका २ हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दा मुनिका रहेको बताउनुहुन्छ । प्रतिनिधिहरु युवा, व्यवसायी, बुद्धिजीवि, पेशाकर्मी लगायतका छन् । यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उहाँको भनाई छ ।
नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कँडेल व्यवसायिक पृष्ठभूमिको हुनुहुन्छ । उहाँ अबको निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको छ ।
जिल्ला सभापति श्रेष्ठले उद्योगी व्यवसायिक क्षेत्रमा नेतृत्व गरेका भेषराज दुवाडी, उत्तमलाल चुके, राजन गौतम, गुणराज श्रेष्ठ, दीर्घमान श्रेष्ठ लगायतका व्यक्तिहरु कांग्रेसको राजनीतिमा सक्रिय भएको बताउनुभयो ।
चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्तिहरु सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउनुहुन्छ ।
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु राजनीतिमा आउँदा व्यवसायिका नीतिगत समस्याहरु बुझ्ने र समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “व्यवसायीक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।”
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम व्यवसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सधैं चन्दा मागेर पार्टी चल्नु भएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन ।” पार्टीलाई आर्थिक रुपमा सवल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिका योद्धाहरुको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो ।






