चितवनः नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पताल सहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ ।
अस्पतालले चितवन सहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिंदै आएको छ । मुख्य अस्पताल भरतपुरको वाईपास सडकमा रहेको छ । भरतपुरको उकालोमा सिटि क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेण्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन् ।
यसैगरी चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनिघाट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन् । यस्तै महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ र तनहुँको आँबुखैरहनी र भानुमा उपचार केन्द्र रहेका छन् ।
आगामी असोज महिनामा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले बताउनुभयो ।
अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्रमार्फत् दुई लाख ९२ हजार ६७१ जनालाई बहिरंग सेवा दिएको छ । शिविरहरु मार्फत् ४२ हजार २७० जनालाई सेवा दिएको छ । कूल लाभान्वित संख्या तीन लाख ३४ हजार ९४१ रहेको उहाँले जानकारी दिनुभयो । चितवन सहित छिमेकी जिल्लाका २६ लाख समुदायलाई सेवा दिन सक्ने क्षमता अस्पतालको छ ।
गत आर्थिक वर्षमा ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दाताहरुको सहयोगमा सेवा बिस्तार गर्न सकिएको श्रेष्ठ बताउनुहुन्छ । स्थानीय तहले अस्पताल र सेवा केन्द्र सञ्चालनमा भवन सहित आर्थिक लगायतका सहयोग गर्दै आएका छन् । यसका अतिरिक्त नेपाल सरकारको संघ र प्रदेशले पनि सहयोग गर्दै आएका छन् ।
पाकिस्तान र भारतीय दुतावास, लायन्स क्लब, सेवा फाउण्डेन, क्योरब्लाइन्डनेश, रुइट फाउण्डेशन, बैंक वित्तिय संस्थाहरु लगायत सामाजिक व्यक्तित्वहरुको सहयोगकै कारण अस्पतालले गुणस्तरसँगै सेवा बिस्तार गर्न सकेको उहाँको भनाई छ ।
अस्पतालका बरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीले उच्चगुणस्तरीय, पहुँचयोग्य र समयमै आँखा उपचार सेवा प्रदान गरेर नेपालमा देखिएको दृष्टिविहिनतालाई कम गर्न आफूहरु लागिपरेको बताउनुभयो । अस्पतालमा ११ जना नेत्र विशेषज्ञ सहित १६७ जना कर्मचारी कार्यरत छन् । अस्पतालले आँखा उपचारसँगै आँखा स्वास्थ्य शिक्षा, तालिम, अनुसन्धान तथा सामुदायिक पहुँच कार्यक्रममा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँ बताउनुहुन्छ ।






