चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनु भएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो ।

पार्टीको १० औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो “हामीले एकल बहुमत ल्याउनु पर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०÷५० प्रतिशतभन्दा बढी ल्याउनै पर्छ, त्यसको तयारी गर्नुहोस् ।” उहाँले अगाडि भन्नुभयो “एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”

नेकपा एमाले बहुमतको संकल्पका साथ अघि बढेको भन्दै उहाँले कसैको तागतले रोक्न नसक्ने बताउनुभयो । पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उहाँले भन्नुभयो “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने बताउँदै उहाँले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताउनुभयो । उहाँले थप्नुभयो “अब फेरि कसैले मत पत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढेको बताउँदै उहाँले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिनुभयो ।

नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उहाँले यसका कार्यकर्ता यसैतर्फ केन्द्रीत हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामी समाजवाद ल्याउन चाहन्छौं, समाजवादको आधार तयार पार्न समृद्धि नेपाल सुखी नेपालीको नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भन्नुभयो “हामी देश बनाउन हिडेका हौं, पाँच दलीय गठबन्धन भत्काउन हिडिरहेका छन् ।”

पार्टीको अधिवेशनहरुमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उहाँले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्ने निर्देशन दिनुभयो ।

सो अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भूमरिमा धकेलिएको र फसाईएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताउनुभयो । आउँदो निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशमा समृद्धि र विकाससँगै अगाडि बढाएर राष्ट्रिय स्वाधिनताको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको उहाँको भनाई थियो ।

एमाले नेता प्रभु साहले केपी ओली बाचुन्जेल साथ दिने बताउँदै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रदेश २ मा एमालेमय बन्ने दावी गर्नुभयो ।

कार्यक्रममा एमाले नेताहरु सुरेन्द्र पाण्डे, माधव ढुंगेल, रामप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !