चितवनः चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । कोभिडको दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द भएका थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुल्ला हुने गर्दछ । यो वर्ष कोभिडका कारण वैशाख यता बन्द भएको गतिविधि खुल्ला भएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जभित्र गरिने सम्पूर्ण पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । निकुञ्जभित्रका बाटो मर्मत सम्हार सकिएसँगै जीप सफारी शुरु गरिएको हो । यससँगै निकुञ्जमा पैदल यात्रा हुने गर्दछ ।
निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्था समेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुंगा सफारी हुने गर्दछ ।
उहाँका अनुसार निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् ।
निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेहरुका लागि पनि गतिविधि खुल्ला भएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका गतिविधि खुल्ला भएसँगै पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व शुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको भट्टराईले बताउनुभयो । फाट्टफुट्ट विदेशी पर्यटक समेत आउन थालेका छन् ।
निकुञ्जका प्रवेश गर्ने क्षेत्र सौराहा, पटिहानी, जगतपुर र मेघौलीमा यतिबेला साना सभासम्मेलन, गोष्ठी लगायतका कार्यक्रमहरु भईरहेका छन् । कतिपय होटलमा माडवारी समुदायका विवाहका कार्यक्रम बुक हुन थालेका छन् ।
चितवन आउने पर्यटक मुख्य रुपमा निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । निकुञ्जमा मुख्य रुपमा एकसिंगे गैडा, पाटे बाघ लगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक आउने गर्दछन् ।





