चितवनः जिल्ला जनगणना कार्यालय चितवनले राष्ट्रिय जनगणना २०७८ को तयारी तिब्र वनाएको छ । कार्यालयले जस अन्तर्गत अन्तर्गत सुपरिवेक्षकको दुई दिने तालिम सम्पन्न गरेको छ ।
स्थानिय तहहरुमा जनगणना कार्यालयहरु स्थापनको काम सम्पन्न भई सकेको छ भने सात पालिकामा सुपरिवेक्षक यहि भदौ ३० गतेबाट खटिदैं छन् । कार्यालयका प्रमुख यज्ञमुर्ती भण्डारीका अनुसार भदौ ३० गते देखि असोज १८ गते सम्म सुपरिवेक्षकले स्थलगत रुपमा सूचिकरण गर्ने छन् ।
सूचिकरणका लागि भरतपुर महानगरपालिकामा १०७ जना, रत्ननगरमा ३० जना, खैरहनीमा १९ जना, राप्तीमा १७ जना, कालिकामा १५ जना, माडीमा १३ जना र इच्छाकामना गाउँपालिकामा ९ जना सुपरिवेक्षक खटिने उहाँले जानकारी दिनुभयो । सुपरिवेक्षकले सूचिकरणको समयमा स्थानिय तहका वडाहरुमा सामुदायिक प्रश्नावली भर्ने सम्मका काम गर्नु पर्ने छ ।
असोज १० गते जिल्लामा जनगणनका लागि ८ सय ५७ जना गणकको नतिजा सार्बजनिक हुने छ । गणकको नियुक्ति पछि एक जना सुपरिवेक्षकले ४ जना गणकलाई परिचालन गरि गणना गर्ने छन् । गणकहरुका लागि यही कार्तिकमा तालिम दिईने छ । गणकहरुले कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म जनगणना गर्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरि काम अघि वढाईएको हो ।
संघियता पछिको पहिलो जनगणना भएकाले गणकहरुले कृषि गणना समेत गर्ने उहाँले जानकारी दिनुभयो । गणकहरुले गणना गरि ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मंसिर मसान्त सम्मका काम सम्पन्न गर्ने छ । वि. सं. २०६८ सालको जनगणना अनुसार ५ लाख ७९ हजार ९ सय ८४ जिल्लको जनसंख्या रहेको छ ।







