चितवन : राजधानी काठमाण्डौं र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भईरहेको छ । डा.श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भएको हो ।
हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनु भएका डा.थापाले विगत ६ वर्षदेखि सरकारी भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आउनु भएको छ । यस अवधिमा भरतपुर अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भईसकेको छ । साँझ बिहान र विदाको दिनमा उहाँले चौबीसकोठीको मौलाकालिका अस्पतालमा यो सेवा दिंदै आउनु भएको छ । मौलाकालिकामा मात्रै २० भन्दा बढी जोर्नी प्रत्यारोपण गरेको उहाँको भनाई छ ।
कोरोना संक्रमणका कारण नियमित यस्ता शल्यक्रिया कम भएका भएपनि पछिल्लो समय नियमित गरिएको छ । घुँडा, पुठो, कुहिनो लगायतको प्रत्यारोपण गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्यारोपणका लागि विभिन्न धातुको मिश्रणबाट बनेको मेटल एलोए ९ःभतब िब्िियथ० प्रयोग गरिंदै आएको छ । जसको मूल्य महंगो पर्ने हुँदा प्रत्यारोपण खर्चिलो हुने गरेको थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो “जोर्नी प्रत्यारोपण गर्दा अमेरिकामा बनेका मेटल एलोएलाई रु.२ लाख हाराहारी र भारतमा बनेकोलाई रु. १ लाख ५० हजार हाराहारी पर्दछ ।”
यसका अतिरिक्त सरकारी अस्पतालमा शल्यक्रिया शुल्क केही सस्तो हुन्छ भने निजीमा केही महंगो पर्दछ । यो मुख्य (मेजर) शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने गरिन्छ । उहाँको भनाईमा बढी संख्यामा ६५ वर्ष नाघेका बृद्धबृद्धालाई यो समस्या पर्ने गर्दछ । जोर्नी खिएर, बाथ रोगका कारण, चोटपटक लागेर, क्षयरोग जस्ता संक्रामक रोगका कारण र बंशाणुगत कारण यो समस्या देखिने गर्दछ । कतिपय बालबालिकामा जन्मजात यो समस्या देखिने गरेको उहाँको भनाई छ । अत्याधिक मदिरा र स्टेरियड औषधिका कारण पनि जोर्नीमा समस्या आउने गरेको छ ।
थापाले हाडजोर्नी नशामा स्नातकोत्तर गरेपछि तीन महिना जोर्नी प्रत्यारोपण सम्बन्धी दिल्लीको एपोलो अस्पतालमा तालिम लिनुभएको छ । यस्तै भारतकै बैङ्लोरमा मरेका मानिसहरुमा गरिने काडा भेरिक शिक्षा पनि थापाले लिनुभएको छ । यस्तै, भारतकै बम्बै र हैदारावारमा रानावत कन्फ्रेन्ससँगै उहाँले प्रत्यारोपणको काम अघि बढाएको जानकारी दिनुभयो । यस खालका तालिमहरु नेपालमा पनि हुने गरेका छन् । ती अधिकांश तालिममा थापाको सक्रिय सहभागिता हुने गरेको छ ।
नेपालमा प्रत्यारोपणमा विज्ञ चिकित्सक कम भएको भन्दै उहाँले समस्या लिएर धेरै बिरामी आउने गरेको बताउनुभयो । उहाँको भनाईमा सरकारले अन्य जटिल रोगमा झै जोर्नी प्रत्यारोपणमा पनि सुविधा दिएमा धेरैले राहत पाउने थिए । आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न परेर पनि यो सुविधा पाउन नसक्नेहरु धेरै भएको डा. थापा बताउनुहुन्छ । एक पटक प्रत्यारोपण गरेपछि १५ देखि २५ वर्षसम्म काम गर्ने गरेको उहाँको अनुभव छ । विदेशमा भन्दा कम खर्चमा यही उपचार हुने भएकाले नेपालमै उपचार गर्न उहाँ सुझाव दिनुहुन्छ ।
दीर्घरोगबाट बच्न, योगा, व्यायामहरु गर्न, अत्याधिक मदिरा सेवन नगरेमा केही हदसम्म जोर्नीको समस्या कम गर्न सकिने थापाको भनाई छ । नेपालमा जोर्नी प्रत्यारोपण सम्बन्धी सचेतना कार्यक्रम कम भएको चिकित्सकहरु बताउँछन् । विदेशमा साना साना जोर्नी प्रत्यारोपण र रोबटिक प्रविधि हुने गरेको भन्दै उहाँले नेपालमा यसको थालनी भईनसकेको बताउनुभयो ।






