चितवनः अनुगमनमा गएर फर्किदैं गरेको प्रहरीको गाडी दुर्घटनामा पर्दा प्रहरी उपरिक्षक सहित ६ जना प्रहरी घाईते भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा अनुगमनका लागि मौवा खोला पुगेर फर्कदैं गरेको प्रहरीको गाडी दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सहित ६ जना घाईते भएका छन् ।

नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिंदा आज साँझ ५ः३० बजे उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार घाईते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । पाँच जना प्रहरीहरुको समेत टाउको हात लगायतका अंगमा सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो । घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भाँसिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा दुर्घटना भएको बताउनुभयो । अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालय चितवनका प्रमुख र ईञ्जिनियरहरु समेत रहनु भएको थियो । लामिछानेले भन्नुभयो “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात ट्रकले ठक्कर दियो ।”

प्रहरी उपरीक्षक सहितको प्रहरीहरुको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उहाँहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किदै छौं ।” गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाई छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !