
चितवन: अष्ट्रेलियामा रहेका चितवनवासीहरूको संस्था चितवन समाज भिक्टोरियाले इच्छाकामना गाउँपालिकालाई दुई थान मनिटर सहयोग गरेको छ । कोभिड अस्थायी अस्पताल सञ्चालन गर्दै आएको सो गाउँपालिकाले स्थायी अस्पताल समेत निर्माण गरिरहेको छ । पालिकाले कोभिड संक्रमण भएका बिरामीका लागि स्थापना गरेको कोभिड अस्थायी अस्पतालमा राख्ने गरी दुई थान ‘प्यासेन्टमनिटर’ दिइएको हो ।
चितवन समाजभिक्टोरियाले पठाएको १ लाख ५० हजार ४ सय रुपैयाँमा खरिद गरिएका मनिटर स्वास्थ्य कार्यालय चितवन मार्फत् गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य कार्यालय चितवनको प्राङ्गणममा आज ती सामग्री कार्यालय प्रमुख दीपक तिवारीमार्फत् ईच्छाकामना गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख वासु सापकोटालाई हस्तान्तरण गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, पत्रकार विनोदबाबु रिजाल, भरतपुर अस्पतालका लीलाधर पौडेलको उपस्थिति रहेको थियो । मनिटर प्राप्त गरेपछि तिवारीले यसलाई अधिकतम उपयोग सापकोटालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “विदेशमा रहनु भएका चितवनवासीको यो सहयोग महत्वपूर्ण हुनेछ ।” कोभिड नियन्त्रणमा हातेमालो गर्नका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूको तर्फबाट सहयोग पठाइएको चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसबाट त्यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।” आगामी दिनमा पनि सहयोगलाई निरन्तरतता दिईने उहाँको भनाई छ । इच्छाकामना गाउँपालिकाले १५ शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिरहेको छ ।
त्यहाँ यसअघि २ वटा मात्रै प्यासेन्टमनिटर उपलब्ध छन् । संक्रमितको आधारभूत स्वास्थ्य अवस्था थाहा पाउन थपिएको मनिटरले सहजता हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो । कोरोना अस्थायी अस्पतालबाट हालसम्म १८ जनाले सेवा लिएको सापकोटाले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख गीता गुरुङले विदेशमा रहेका चितवनवासी र नेपालीहरुको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यो संस्थाले भूकम्पका बेला पनि सहयोग गरेको थियो ।” चितवनसहित धादिङ, गोरखा र तनहुँका बिरामी यसबाट लाभान्वित हुने गुरुङको भनाई छ । चितवन समाज भिक्टोरियाले अष्ट्रेलियाबाट विभिन्न समयमा सहयोग पठाइरहेको छ । संस्थाले मुख्यगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पटक–पटक सहयोग गरेको उपाध्यक्ष विपुल ज्ञवालीले बताउनुभयो ।
यही जेठमा समाजले ग्रिन लायन्स क्लब भरतपुरमार्फत भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड उपचाररत बिरामीलाई खाना खुवाएको थियो । त्यसका लागि समाजले रु.२ लाख सहयोग गरेको छ । संस्थाका पूर्ब अध्यक्ष सोमप्रसाद गुरुङका अनुसार समाजले गैरआवासीय नेपाली संघ अष्ट्रेलियामार्फत नेपालमा कोभिड नियन्त्रणमा सघाउन १ हजार २ सय अष्ट्रेलियन डलर सहयोग पठाएको थियो । यो रकम नेपालमा अक्सिजन ग्यास व्यवस्थापनका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।
यसअघि समाजले क्रुजपार्टीबाट उठेको ४ हजार अष्ट्रेलियन डलर अष्ट्रेलिया–नेपाल मल्टीकल्चरल सेन्टरकालागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । समाजले नेपालमा २०७२ सालमा विनासकारी भूकम्प जाँदा पनि सहयोग गरेको थियो ।
संस्थाले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधिन अबस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगसालालाई समेत रु १ लाख ५० हजार सहयोग गरेको छ ।