चितवनः चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ३ ढोडेनीका ३२ वर्षिय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो । चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन वटा मुद्दा परेको छ । उन विरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् । बि.सं. २०७७ भदौ १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफै सुट समेत गर्ने उनै भएको निकुञ्जको दावी छ । गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ ।

उनी फरार रहँदै आएका थिए । उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रड समेत बरामद गरिएको छ ।

योसँगै चालु आर्थिक वर्षमा यो सहित चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । ती मध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादी हुन् ।

प्रतिक्रिया दिनुहोस !