
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।
१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउनुभएको थियो । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैहुनुहुन्छ ।
उनीसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो । त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी थियो ।
तर विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताउनुभयो ।