चितवन, : कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै अघिल्लो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई प्राथमिकता दिएर उपलब्ध गराईदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले ज्ञापनपत्र बुझाउँदै भन्नुभयो “स्वास्थ्यकर्मीसँगै अग्रमोर्चामा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्दछौं ।” उहाँले जिल्लामा महासंघका १५० हाराहारी सदस्य खोप लगाउनबाट छुटेको जानकारी दिनुभयो । उहाँले महासंघको सदस्य नरहेका तर सञ्चारक्षेत्रमा खटिएका अरु थप पत्रकारहरु पनि रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लामिछानेले पत्रकारहरु उच्च जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउँदै आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “यो चरणमा सम्भव हुने देखिंदैन अर्काे चरणका लागि मैले सम्भव भएसम्म प्रयास गर्छु ।” उहाँले पत्रकारहरुले पनि खोप उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्न आग्रह गर्नुभयो ।
यसैगरी स्वास्थ्य कार्यालय प्रमुख दीपक प्रसाद तिवारीलाई पनि आजै महासंघको टोलीले ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा तिवारीले माथिल्लो निकायमा यस सम्बन्धी जानकारी गराउने बताउँदै आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुवै कार्यक्रममा महासंघका सल्लाहकार तिलक रिमाल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य सहभागी हुनुहुन्थ्यो ।