
चितवनः कोरोना भाईरसको सङ्क्रमण बिस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यहि वैशाखको मसान्त सम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।
जिल्लाका बिभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । सोदिन ५ सय ९० जनाको कोरोना परिक्षण गरिएकोमा यस जिल्लाका सो संख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो संख्या क्रमश २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमितको संख्या वढ्दै गएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार बैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३० गते ७ सय ७३ जनाको कोरोना परिक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखिएको थियो । अहिले यो संख्या बिस्तारै घट्दै आएको उहाँले बताउनुभयो । सङ्क्रमितको संख्या बैशाख ३१ गते देखि विस्तारै घट्दै गएको छ । बैशाख ३१ गते २ सय ३० मा रहेको सङ्क्रमितको संख्या बिस्तारै घट्दै जेठ ६ गते सम्म आइपुग्दा दैनिक १५० को हाराहारीमा आई पुग्यो । उहाँले भन्नुभयो “अहिले सङ्क्रमितको संख्या बिस्तारै १ सय देखि १ सय ५० को हाराहारीमा आएको छ ।”
वैशाख २८ गते देखि जिल्लामा एण्टीजिनको प्रयोग मार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । एण्टिजिन मार्फत जिल्लामा अहिले सम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण वैशाख १८ गते देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् । जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भईसकेका छन् । जस मध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये १ सय ५८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् । जिल्लामा हाल सम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार सुरुवाती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले सो संख्या एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ सङ्क्रमित आउने दर घटेको भए पनि जिल्लामा सक्रिय सङ्क्रमितको संख्या वढि भएकाले अझै जोखिम कम नभएको उहाँले वताउनु भयो । सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभए सम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये निको भएर घर फर्कनेको क्रम पनि दैनिक ५० जनाको हाराहारीमा रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “सङ्क्रमित घर फर्कन थाले संगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।”अहिले कोरोना कहरका कारण गरिएको निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो । जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उहाँको बुझाई छ ।
कोरोना कहरका कारण जिल्लामा बैशाख १६ गते देखि निषेधाज्ञा जारी रहेको छ । सङ्क्रमित मध्ये जिल्लामा वढि संख्यामा महानगरका सङ्क्रमित रहेका छन् । जनघनत्व वढि भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण वढि देखिएको उहाँले बताउनु भयो ।