चितवनः भरतपुरस्थित वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी कोभिड संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो ।
अस्पताका कार्यकारी निर्देशक डा.देजकुमार गौतमद्वारा जारी सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ “अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।” यस्तै मेमोग्राफ, ईण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाईएको छ ।
फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुम मार्फत् सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ । अस्पतालको सेवाग्राहीहरुले सेवा लिन आउँदा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर प्रयोग गर्ने, साबुन पाानीले हात धुने लगायतका सावधानी अपनाउन पनि अस्पताले अनुरोध गरेको छ ।
ओपिडी टिकट विदाको दिन बाहेक बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने अस्पतालले जनाएको छ ।