चितवनः कोरोना भाईरस (कोभिड १९) विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाईने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकाहरुलाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शव व्यवस्थाापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेहरुको संख्या १४ हजार रहेको छ ।
यस्तै दोस्रो चरणणमा खोप लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई भने यस चरणमा खोप लगाईने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाईएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । दोस्रो चरणका लागि समय नपुगेको र खोप आईनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ ।
उहाँका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्र मार्फत् खोप लगाईएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजहरुमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाईएको छ । तिवारीका अनुसार जिल्लाका सात वटै पालिकामा रहेकाहरुलाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।
बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो “लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौं ।”






