चितवनः कोरोना बिरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते देखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरि जानकारी दिएको हो । सो अबसरमा कार्यालयका प्रमुख दिपक तिवारीले दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज भ्याक्सिन प्राप्त भइसकेको छ ।

जिल्लामा अहिले ६० वर्ष माथिका ६५ हजार ६ सय ६ जना रहेका छन् । यस तथ्याङ्क अनुसार ६५ वर्ष समुहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिनुभयो ।

खोप अभियानमा ४ सय ७९ जना स्वास्थ्यकर्मी परिचालन हुने छन् । जस मध्ये २ सय ५१ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र २ सय २८ जना स्वयमसेबि स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा ६५ वर्ष माथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्तीमा खटिनेलाई पनि खोप लगाइने छ ।

दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिका स्तरीय खोप समन्वय समितिलाई सक्रिय वनाईएको छ । खोपका लागि उमेर पुगेको परिचय पत्र अनिवार्य मागिने छ । अभियान फागुन २३ गते देखि २९ गते सम्म चल्नेछ । पहिलो चरणमा जिल्लामा १३ हजार ५ सय जनाले खोप लगाएका थिए । पहिलो चरणको पहलिो समुहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समुहका ८२ प्रतिशतले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्तीमा रहेर काम गर्नेलाई दुई समुहमा बिभाजन गरेर खोप लगाइएको थियो ।

जिल्लामा अहिले सम्म कोरोना सङ्क्रमितको संख्या ६ हजार ८ सय ६२ जना पुगेको छ । अहिले सक्रिय संक्रमित ४९ जना रहेको कार्यालयले जनाएको छ । सङ्क्रमित मध्ये १ सय ९ जनाको मृत्यु भएको छ । अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !