चितवनः नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परिक्षण, उपचार र जनचेतना मूलक कार्यक्रम गर्दै आइरहेको छ । विं सं. २०३६ सालबाट निरन्तर रुपमा सो संस्थाले अभियान चलाउँदै आएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९ सय ९१ जनाको खकार परिक्षण गरि ४५ जना क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म १ सय ४४ जनाको परिक्षण गरेको छ । जस मध्ये ८ जना क्षयरोगका बिरामी भेटिएका छन् ।

संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष बिभिन्न आठ वटा जनचेतना मुलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । बिभिन्न संघ संस्था, सरोकारवाला, बिरामी, समुदायका मानिसहरु, स्वास्थ्य आमा समुह लगाएत लक्षित वर्ग सम्म पुगेर रोगको बारेमा जानकारी संगै जनचेतना फैलाउने काम भइरहेको छ ।

संस्थामा हाल २९ जना क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामी मध्ये सात जनालाई मल्ट्रि ड्रग रेसिस्टेन्ट अर्थात महंगो खालको औषधि खुवाएर उपचार गरिदैं छ । ६ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु ८ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परिक्षण खर्च उपलव्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई ९ देखि १८ महिना औषधि खुवाउनु पर्ने हुन्छ ।

सामान्य अबस्थाका बिरामीका लागि करिब रु ६ हजार खर्च हुने गर्दछ । उनीहरुलाई ६ महिना सम्म नियमित औषधि खुवाउनु पर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । जस मध्ये एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अंगहरुमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग स्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अंगमा लागेका क्षयरोग सदैंन ।

संघले क्षयरोगका बिरामीको एचआईभि एड्स परिक्षण र एचआइभिका बिरामीको क्षयरोग परिक्षण समेत गर्ने गर्दछ । न्यौपाने भन्नुभयो “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उहाँको भनाईमा नेपालमा वि. सं. २०१० सालमा स्थापना भएको यस संस्था अन्तर्गतका शाखाहरुमा सामाजिक व्यक्तिहरु रहेर समुदायमा सेवा गर्दै आएका छन् । यस संस्थाले बिद्यालयहरुमा जुनियर नाटा नामक समितिहरु गठन गरि जनचेतनामुलक कार्य समेत गर्ने गरेको छ ।

सो संस्था संञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षय कोष खडा गरिएको छ । संस्थाले बिगत १० वर्ष देखि एम्वुलेन्स सञ्चालन गर्दै आएको छ । यस संगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्ब सभापति भिमराज पाठकले रु १५ लाख संस्थालाई उपलव्ध गराउनु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउनु भयो । जनचेतना मार्फत संकास्पदलाई परिक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउने लगाएतका काम संस्थाले गरिरहेको उहाँको भनाई छ । कोरोना सङ्क्रमण सुरु भए लगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई संगठित वनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमुना काम गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !