चितवन: चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा संञ्चालनमा ल्याउने भएको छ । कलेजले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट फागुन १ गतेबाट कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको नविनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो । विगत ५ वर्षदेखि कपाल र छाला सम्बन्धी सेवा दिदै आएको कलेजले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको चण्डीगढ़मा छाला तथा कपाल सम्बन्धी बिषयमा स्नातकोत्तर गरेर आउनुभएकी डा. श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्ने छ ।

कपाल, छाला एवं यौन रोग बिशेषज्ञ डा. उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिशेष गरेर महिलामा हेयर लाइन मिलाउन पर्ने अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ, कपाल झर्ने समस्याको लागि पनि विभिन्न थेरापीहरुबाट समस्याको हाल गरिन्छ ।” हालसम्मकै अत्याधुनिक प्रणालीबाट कपाल प्रत्यारोपण सेवाका साथै छाला, सौन्दर्य र यौन रोग सम्बन्धी सम्पूर्ण उपचार हुने डा. उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेजले ल्याएको प्रबिधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो । रोपेको जति शतप्रतिशत कपाल बाच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबैजनाले यो प्रबिधिनै रोज्ने गरेको डा उप्रेतीको भनाइ छ ।

अरोगिन हेल्थकेयरका प्रबन्ध निर्देशक रोशन पाण्डेले आफूहरुले काठमाण्डौंबाट यो सेवा दिंदै आएको जानकारी दिंदै अब चितवनलगायत यस आशपासका वासिन्दा यो सेवाबाट लाभान्वित हुने बताउनुभयो ।

चितवन मेडिकल कलेजले केही समय अघि अत्याधुनिक स्प्याक्टसिटी मेसिन समेत भित्र्याएको छ । उक्त मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा समेत सुरु भएको छ । कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलो पटक आफूले सुरु गरेको जनाएको छ ।

कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले स्वास्थ्य संग सम्बन्धित सेवाका लागि बिरामी बिदेश जानु नपर्ने गरि सेवा बिस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी विश्वका ठूला अस्पतालहरुले दिने सेवा यही दिनका लागि काम गरिरहेका छौ ।” कतिपय बिभागहरु नेपालको उत्कृष्ठ रहेको भन्दै उहाँले आफ्नो प्रतिस्प्रर्धा विदेशका ठूला अस्पतालहरु संग हुने गरि उपचार सेवा बिस्तार गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !