चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रमहरु खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रमहरु गरिरहेका छन् । ती कार्यक्रमहरुमा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माईक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसार लगायतमा ठूलो खर्च हुने गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौंमा भएको बिरोध सभामा २०० वटा ठूला बस र ठूलै संख्या साना गाडीमा कार्यकर्ता गएको बताउनुभयो । यस अघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाण्डौं गएको उहाँको भनाई छ । यी कार्यक्रममा साना गाडी पनि ठूलो संख्यामा गएका थिए । एउटा बसले चितवनदेखि काठमाण्डौंसम्म जाँदा आउँदा रु.२५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ । यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ ।

परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक संकलन गरेर खर्च जुटाउने गरेको बताउनुभयो । उहाँका अनुसार कतिपय कार्यकर्ता आफैले खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

नेकपा ओली पक्षले जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा जनसभा आयोजना ग¥यो । सो सभामा एक सय हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाण्डौंमा यहाँबाट ठूलो संख्यामा कार्यकर्ता लगेको थियो । भरतपुर महानगरपालिका वडा नं. ११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिनुभयो । जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । पण्डितका अनुसार एउटा बसलाई रु. २१ हजारका दरले आवतजावत भाडा बुझाईएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाण्डौं कति सवारी गए भन्ने एकिन संख्या आईनसकेको बताउनुहुन्छ ।

यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्लातहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ । सभापति जीतनारायण श्रेष्ठका अनुसार मंसिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीय स्तरको, पुस २५ गते प्रदेश स्तरको, माघ ३ गते नगर स्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भईसकेका छन् । फागुन ३ गतेको विरोध सभाको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । ती सबै कार्यक्रममा झण्डा, माईकिङ, अन्य प्रचारप्रसार, स्टेज लगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाई छ । उहाँका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु.१ लाखदेखि २ लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

खर्चको लेखाजोखा नहुने भए पनि निकै खर्चिलो हुने गरेको नेता बताउँछन् । सबै पक्षले निकट उद्योगी व्यवसायीसँग सहयोग जुटाउने गरेका छन् । बाहिर चन्दा नउठाईएको भए पनि आन्तरिक रुपमा खर्चको व्यवस्थापन भने गरिरहेका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ संस्थागत रुपमा चन्दा नमागेको बताउनुहुन्छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले पार्टी निकट उद्योगी व्यवसायीहरुसँग स्वेच्छिक चन्दा मागेको बताउनुभयो । उहाँले भन्नुभयो “म निकटको पार्टीले सहयोग गर्नुप¥यो भनेका छन्, मेरो भागमा कति पर्छ दिन्छु भनेको छु । सबैको यस्तै हो ।”

हेर्दा सामान्य लाग्ने भए पनि यस्ता कार्यक्रममा लाखौं रुपैयाँ खर्च भईरहेको छ । खर्च व्यवस्थापन गर्ने जिल्लाका नेताहरुलाई धौधौ पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !