चितवनः जटिल मानिने मुटु रोगको उपचार गर्न राजधानी काठमाण्डौं नै जानुपर्छ भन्ने मान्यता तोड्दै यहाँको चितवन मेडिकल कलेज अग्रणी बनेको छ । मुटुरोगको जटिल उपचार समेत यहाँ हुन थालेपछि कलेज अग्रणी बनेको हो ।

मेडिकल कलेजले मुटु रोगको उपचारमा संख्यालाई आधार मान्दा काठमाण्डौंको शहीद गंगालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दावी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० जना बिरामी आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम १ हजार ८५२ जनाको, कोरोनरी एनजिओप्लास्टी १ हजार ३२ जनाको, पेजमेकर १५३ जनाको, पिटिएमसि १६० जनाको र अस्थायी पेजमेकर १३९ जनाको गरिईसकिएको छ । विगत सात वर्ष यता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालको मुटुरोग विभागका प्रा.डा.सुधिर रेग्मीका अनुसार यहाँ शल्यक्रिया बाहेक मुटु सम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुवाती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाईमा नेपालमै मुटु सम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रुपमा यस कलेज बनेको छ ।

कलेजको मुटु विभागमा रेग्मीसहित प्रा.डा.श्यामराज रेग्मी, सहप्राध्यापक डा.विष्णुमणि धिताल, मेडिकल कलेजले लिंकन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच जना चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भईरहेको फेलोसिप गर्दै गरेका दुई जना चिकित्सक कार्यरत हुनुहुन्छ ।

यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पु¥याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवन सहित नवलपरासी, धादिङ, लम्जुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लाबाट बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । राजधानी काठमाण्डौंबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

सबै उमेर समूहका बिरामी आउने गरेको उहाँको भनाई छ । अस्पतालमा ईसिजि, ईको, एबिपिएम, हल्टर लगायतका उपकरणहरुको सहयोगमा समेत उपचार गर्ने गरिएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले मुटुको उपचारमा गंगालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दावी गर्नुभयो । विगत सात वर्ष यता राजधानी काठमाण्डौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उहाँको भनाई छ । न्यौपानेले भन्नुभयो “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौं ।” यो शल्यक्रिया सेवा शुरुभएसँगै मुटुको भल्ब प्रत्यारोपण समेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु.एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आईरहेको छ । ७५ वर्षमाथिका र १४ वर्ष मुनिका बिरामीहरुका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ ।

कलेजमा मुटु रोग उपचारका लागि छुट्टै २० शैयाको मुटु सघन उपचार कक्ष र अर्काे २० शैयाको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटु रोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताउनुभयो । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्यु समेत हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !