
चितवनः केहीदिन अघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । जहाँ चालकको छातिको करङ भाँचिन पुग्यो र उनको अहिले अस्पतालमा उपचार भई रहेको छ । बसन्तपुरबाट चिरौली जाँदै गरेको ना ७ त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षिय दयाराम महतो घाईते हुनु भएको हो । दुर्घटना पुस १९ गते भएको थियो ।
यस्तै केही दिन अघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजीक दुर्घटना भयो । जसमा मानविय क्षती हुन पाएन । यी दुबै घटनाको कारण थियो चालकको शारिरिक अबस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्तचापको समस्याले भएको हो भने टिकौलीमा भएको दुर्घटना चालकमा छारेरोग भएका कारणले भएको पाईएको छ ।
यसरी सडकमा सवारी दुर्घटना हुँदा चालक अस्वस्थ रहेको पाईए पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय संगको समन्वयमा मौलाकालिका अस्पताल भरतपुरले आज अस्पताल परिषरमा लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षणमा आउनु भएका म्याजिक चालक राजकुमार गुरुङ्ग सवारी चालकहरुको नियमित स्वास्थ्य परिक्षण गर्न आबश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “केही दिन अघि संगै म्याजिक चलाउने साथीको गोन्द्राङ्मा दुर्घटना भयो । आखिर उसलाई छारे रोग रहेछ ।”
यस्ता दुर्घटनाले चालक मात्र नभएर सवारी यात्रा गरिरहेका यात्रु र सडकमा पैदल यात्रा गरिरहेकाहरु समेत असुरक्षित वनेको सवारी चालकहरुलेनै बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्ट चालकमा हुने दिर्घरोग पनि सडक दुर्घटनाका कारण मध्ये एक रहेको बताउनुहुन्छ । चालकको स्वास्थ्यका कारण १५ प्रतिशत दुर्घटना हुने गरेको उहाँको भनाई छ । नियमित स्वास्थ्य परिक्षण गर्ने र स्वास्थ्य अबस्थ सुधार नभए सम्म सवारि नचलाउन उहाँले चालहरुलाई आग्रह गर्नुभयो ।
मौलाकालिका अस्पतालका सञ्चालक डा. रमेश घिमिरेले चालकको स्वास्थ्य भनेको यात्रुको सुरक्षा संग प्रत्यक्ष जोडीने भएकाले अस्पतालले यो कार्यक्रम गरेको बताउनुभयो । समुदाय प्रति उत्तरदायी हुने क्रममा समाजमा यस्ता कार्यक्रमहरु मौलाकालिका अस्पतालले बिभिन्न समयमा गर्दै आएकोमा यस वर्ष चालकहरुको स्वास्थ्य परिक्षण गरिएको उहाँको भनाई छ । अस्पतालले आजको क्याम्पमा स्वास्थ्य परिक्षण गर्न आउने चालकहरुका लागि पछि पनि अस्पतालमा २० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।
सो अबसरमा ७५ जना सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको थियो । ती मध्ये अधिकांशलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएको घिमिरेले जानकारी दिनुभयो ।