चितवन: ३७ हजार बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनु भएकी डा. नितु अधिकारी हाल आएर आफै संक्रमित हुनु भएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड १९ प्रयोगशालाको नेतृत्व गर्दै आउनु भएकी डा. अधिकारी लामो समय संक्रमणबाट सुरक्षित रहनु भएको थियो ।

उहाँ गत साता संक्रमित भएपछि होम आईसोलेसनमा हुनुहुन्छ । उहाँसँगै श्रीमान् र आमा समेत संक्रमित हुनु भएको छ । अधिकारीले भन्नुभयो “निकै गाह्रो हुँदो रहेछ ।” उहाँले टाउको, शरीर र छाती दुखेको बताउनुभयो ।

उक्त प्रयोगशालामा दैनिक ६ सयसम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुवाती समयमा स्वाबको संख्या धेरै भएपछि २४ सैं घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिकहरु आफू सुरक्षित भई काम गर्दा पनि संक्रमित हुन पुगेको बताउँछन् । अधिकारीले भन्नुभयो “पिपिई सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसावले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि संक्रमित भएँ ।” उहाँले थप्नुभयो “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”

जिल्लामा पोजेटिभ संक्रमित ६ हजार ४१२ जना पुगेको छन् । मृतकको संख्या १०१ पुगेको छ । ६ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै ४ हजार ५८९ जना छन् । यस्तै, माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस !