काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न तयारीमा लाग्नुभएको छ । आफ्नो समर्थक मुख्यमन्त्री अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुट्नुभएको हो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् । ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै हो ।

आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभासमेत विघटन गर्नका लागि परामर्शमा जुट्नुभएको हो । बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा विघटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उहाँ निकट एक नेताले जानकारी दिए । आफूनिकट मुख्यमन्त्री र मन्त्री संकटमा परेका कारण उहाँले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको ती नेताले बताए ।

‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ । प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधि सभासँगै विघटनका गर्न लाग्नुभएको थियो । तर, विवाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त निर्णय रोकिएको थियो,’ उनले भने, ‘हाल राजीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा विघटन हुन्छ भने थाहा छ ।’

प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि विघटन हुँदैछ भनेर सन्देश दिनुभएको थियो । संविधानले प्रदेशसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा विघटन गर्न सक्ने कानुन व्यवसायीको मत छ । संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा विघटन गर्न सक्ने व्यवस्था रहेको बताउनुहुन्छ । आचार्यले भन्नुभयो “राष्ट्रपतिले प्रदेशसभा विघटन गर्ने व्यवस्था छ, त्यसअनुसार विघटन हुनसक्छ ।”

प्रतिक्रिया दिनुहोस !