चितवनः कोरोना भाइरसको सङ्क्रमणसंगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान वनाउन घुमौं सौराहा अभियान शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अबस्था नभए पछि आन्तरिक पर्यटन प्रबर्धनका लागि घुमौं सौराहा अभियान सुरु गर्न लागिएको हो ।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा अभियान सुरु गरिदैं छ । संघका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो । आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेज सहित कार्यक्रम गरिदैं छ ।
अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर, पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उहाँले स्वदेश भित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न घुमौं सौराहा अभियान शुरू गर्न लागेको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैंडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।
अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरहरुमा सौराहासंग सम्बन्धित प्रस्तुती, भिडियो र वन तथा वन्यजन्तुका फोटाहरु प्रदर्शन गरिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौ ।”अभियान पहिलो चरणमा प्रदेशनम्बर १ र २ एबं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिने छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका घिमिरेले नेपाल सरकारले सन २०२१ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पु¥याउने विश्वास व्यक्त गनुभयो । अभियानलाई नेपाल पर्यटन वोड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन् ।
गत वर्षहरुमा संघले भारतीय सिमा क्षेत्रका शहरहरुमा पुगेर यसरीनै पर्यटन प्रबर्धनका कार्यक्रम गर्ने गरेको थियो । कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो । गएको चैत्र पहिलो साताबाट वन्द भएका सौराहाका होटल, रेष्टूरेन्ट दशैं पछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टूरेन्ट एण्ड वार एशोसियसन (रेवान)का अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको अबस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउँनु पर्छ ।” सौराहामा १ सय २० वटा होटल र १ सय हाराहारी रेष्टूरेन्ट रहेका छन् ।







