चितवन, २४ मंसिर । नारायणी नदी किनारमा गुरुयोजना बनाएर पर्यटकीय विकासका काम अघि बढेका छन् । भरतपुर महानगरपालिकाले नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो । महानगरले तयार गरेको गुरुयोजना अनुरुप काम गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्र समेत आव्हान गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार महानगरपालिकाको गुरुयोजना अनुसार काम गर्न मन्त्रालयले आज बुधबार बोलपत्र समेत आव्हान गरेको छ । उहाँका अनुसार पैदल पथ (वाकवे), पार्किङ्ग, बगैंचा लगायतका काम गर्न बोलपत्र आव्हान गरिएको हो ।

उहाँका अनुसार गत वर्ष नारायणी नदी किनारमा उद्योग वाणिज्य संघ चितवनसँग सहकार्य गरेर रु. एक करोड हाराहारीको काम सम्पन्न भएको छ । दाहालले भन्नुभयो “हाम्रो आग्रहलाई संघीय सरकारले सम्बोधन गरेको छ । अब नारायणी नदी किनार आकर्षक पर्यटकीय केन्द्र बन्नेछ ।”

मन्त्रालयका पर्यटन विभागका इञ्जिनियर सचिन्द्र यादवका अनुसार महानगरको गुरुयोजना अन्तर्गतको २.४ किलोमिटर वाकवे, १ सय हाराहारी चार पाङ्ग्रे सवारी अट्ने दुई वटा पार्किङ, बगैंचा लगायत निर्माणका लागि बोलपत्र आव्हान गरिएको हो । एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको छ । बजेट सीमा रु.६ करोड ५० लाख रहेको छ । क्रमशः गुरुयोजना अनुसार अन्य काम गरिंदै लगिने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

भरतपुर महानगरपालिका वडा नं. १ नारायणगढ बजार छेउ हुँदै बग्ने नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन लागिएको हो । पर्यटकीय पूर्वाधार नहुँदा समेत आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने उक्त ठाउँलाई व्यवस्थित भएपछि थप पर्यटकीय गतिविधि हुने अपेक्षा महानगरले गरेको छ । उक्त ठाउँमा अहिले सोलार बत्ती जडान गरिएको छ । बिहान मर्निङवाकदेखि साँझ टहलिनेसम्मको भिड हुने गर्दछ । दिउँसो र साँझ खानाका स्टलहरु खाएर नदी किनारमा रमाउनेहरु प्रशस्त भेटिन्छन् ।

सो ठाउँमा बगैंचा, फुटवल मैदान, भलिवल कोट, व्याडमिन्टन कोट, बिच भलिवल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अबलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङ्गलगायतका संरचना निर्माण गर्ने गुरुयोजननामा उल्लेख छ । नगरपालिकाका इञ्जिनियर अस्मिता खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिंचचाईसम्मको २ दशमलब ५ किलोमिटर लामो सो भूभाग १५ विगाह क्षेत्रमा फैलिएको छ ।

खनालका अनुसार त्यस भूभागलाई पाँच भागमा बिभाजन गरेर संरचनाहरु निर्माण गर्ने गरी बिस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको हो । रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिबेदन तयार भईसकेको छ ।

नदी किनारको दुई तर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिने छ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साईकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मिक प्रबेश क्षेत्र, हरियाली क्षेत्र रहने छन् ।

महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुने छ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्र बिन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पबित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिने छ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा नदीका खेलहरु पनि खेल्न सकिने छ । दाहालले भन्नुभयो “म प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजना अनुसार कामले गति लिएको छ ।” संघीय र प्रदेश सरकार यस क्षेत्रलाई विकास गर्न सकारात्मक भएकाले गुरुयोजना अनुसार अन्य काम छिट्टै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सामुन्द्रिक किनारको अनुभूती त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उहाँको भनाई छ । मुख्य रुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने दाहालको भनाई छ । धार्मीक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचनाहरु बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउनेसम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिईएको छ ।

विश्वका ठूला शहरहरुमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रीक किनार हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदी कमै मात्र हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !