चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले अनुमती लिएर राखिएका हतियार मध्ये १ सय ४९ थानको नविकरण नभएको जनाएको छ । यहाँ व्यक्ति र संस्था गरेर १ सय ७३ जनाले १ सय ९९ वटा हतियार अनुमती लिएर राखेका थिए । जस मध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नविकरण गरेको कार्यालयको स्थानीय प्रशासन शाखाका खरिदार रुपेश ज्ञावलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा अनुमती लिएर राखिएका हतियार मध्ये एउटाको ठाउँसारी र तीन वटाको लगत कट्टा गरिएको छ । लगत कट्टा गरिएका हतियार नेपाल सरकारले लिई सकेको छ । स्थानीय प्रशासनले पटक–पटक हतियार नविकरणका लागि आव्हान गरेको भए पनि नविकरणका लागि आउनेको संख्या कम रहेको कार्यालयले जनाएको छ ।
ज्ञावलीका अनुसार १६ बोरको १ नाले १ थान, १२ बोरको २ नाले ११ थान, १२ बोरको १ नाले २४ थान, २२ बोरको राईफल ६ थान, २२ बोरको २ नाले राईफल २ थान हावादारी बन्दुक १ थान र टोटावाला मिनेचर टूटू १ थान मात्र नविकरण भएका छन् । अन्य हतियार ५ वर्ष देखि १५ वर्षसम्म नविकरण नभएको पाईएको छ । हतियार खरखजना तेस्रो संसोधन नियमावली २०४५ अनुसार पाँच वर्षभन्दा बढी नविकरण नगरिएका हतियारहरु राज्यलाई बुझाउनु पर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । यसरी नविकरण गरिएका हतियारमा एक संस्था वा व्यक्तिको नाममा दुई भन्दा बढी समेत रहेका छन् ।
भट्टराईले हतियारको नविकरणाको अवस्थाको बारेमा अध्यावधिक गर्ने काम भईरहेको जानकारी दिनुभयो । केही दिनमा पुनः सूचना जारी गरी तोकिएको समयमा नविकरण नगर्ने हतियार जफत गरिने बताउनुभयो । हाल कार्यालयले नयाँ अनुमति भने दिएको छैन ।







