काठमाडौः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाहिर छरिएर रहेका विचारहरु पार्टीमा भित्रिएको विचार व्यक्त गर्नुभएको छ ।
पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्दै उहाँले अब पार्टीमा छरिएर रहेका विचार एकत्रित भएकाले चाहेको खण्डमा समस्या समाधान गर्न सकिने समेत उल्लेख गर्नुभयो ।
शनिबारको सचिवालय बैठकमा बोल्दै उहाँले पार्टीको जीवन कमिटीका बैठकहरुमा हुने र बैठकहरुको जीवन छलफलमा हुने भएकाले छलफल नभएमा पार्टी जीवन समाप्त हुने बताउनुभएको हो ।

उनले बैठमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखेको दस्तावेजमा भने कुनै टिप्पणी नगरेको उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो “यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।”

उहाँले बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने बताउनुभयो ।

पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्ने गौतमको भनाई छ ।

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने पनि उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस !