काठमाडौंः नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहल (प्रचण्ड) लाई भेटे गरेर उनीहरू विवाद साम्य पार्न सुझाव र दबाब दिने तयारीमा जुटेका हुन । परिणामा जे आए पनि भेटेर सुझाव दिनु राम्रो हो भन्ने लागेर भेटका लागि छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताउनुभएको छ ।

सुरेन्द्र पाण्डेले ट्वीट गर्दै भन्नुभएको छ, “पार्टीभित्रको समस्यालाई मिलाउन हिजोको कार्यदलका सदस्यहरूले अध्यक्षहरूलाई भेटेर कुरा गर्ने कि ? भन्ने छलफल गर्दैछौँ । परिणाम जे आएपछि प्रयास भने जारी राख्नु राम्रो होला भन्ने लागेको छ ।

गत साउनमा नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदनकै आधारमा २६ भदौमा स्थायी समितिले नेकपाको विवाद टुंगो लगाएको थियो । आगामी दिनमा विवाद नगर्ने भनेर दुई अध्यक्षले २६ भदौलाई कट अफ डेको रूपमा पनि व्याख्या गरेका थिए ।

त्यो कार्यदलले प्रधानमन्त्रीका रूपमा पाँच वर्ष नै केपी ओलीलाई जिम्मा दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डमा केन्द्रीत गर्ने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा सहमति जुटेको थियो । तर, अहिले यी दुवै सहमति कार्यान्वयन भएका छैन । र, नेकपाको विवाद उत्कर्षतिर लागेको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल थिए ।

प्रतिक्रिया दिनुहोस !