चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७९ वर्षीय वृद्ध र धादिङ्गको निलकण्ठ नगरपालिका वडा नम्बर ३ की ६१ वर्षीया वृद्धा रहेका छन् ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका पुरुष कात्तिक १६ गते कोरोना सङ्क्रमण सहित श्वासप्रश्वासमा समस्या आई अस्पताल भर्ना भएका थिए । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भई होम आईसोलेसनमा बस्दै आएका उनमा समस्या देखिए पछि अस्पताल ल्याईएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती १ः२० वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै कोरोना सङ्क्रमण सहित अस्पतालमा भर्ना भएकी धादिङ्गकी वृद्धाको पनि मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भइ श्वासप्रश्वासमा समस्या आएर अस्पतालमा भर्ना भएकी उनको कोरोना सङ्क्रमणका कारण राती २ः५५ वजे मृत्यु भएको हो । अस्पतालको आइसोलेनमा भर्ना भएकी उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।