चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने वताउनुभएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको २१ औं वार्षिकोत्सब तथा १६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अबसरमा आज आयोजीत कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले खानपान र आहारा बिहारमा ध्यान नदीदा क्यान्सर रोगबाट ग्रसित हुनु परेको छ ।” मानिसमा हुने मोटोपन, शारिरिक रुपमा निस्क्रयता, हरिया सागसव्जि तथा फलफुलको कम प्रयोग, मदिरा र सूर्ती जन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उहाँले बताउनु भयो ।
क्यान्सर रोगका सङ्क्रमित मध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै उहाँले रोग लाग्नु भन्दा लाग्नै नदीनु उत्तम रहेको बताउनुभयो । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैले साथ दिनु पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।”
नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीहरुको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उहाँको भनाई थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका बिभिन्न स्थानबाट यहाँ बिरामीहरु उपचार गर्न आउने गरेको भन्दै उहाँले यसलाई अझै वढाउन आबश्यक रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आ आफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “नारा होईन काम गर्नुस्। काममा बिश्वास गर्नेहरुले समाजलाई सहि मार्ग दर्शन गर्न सक्छन् ।” विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा बार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । जस मध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको मन्त्री ढकालले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चीनिया टिमका टिम लिडर वी झ्याङ् लगाएतले बोल्नु भएको थियो । सो अबसरमा अस्पतालका कार्यकारी दिर्नेशक डा. देजकुमार गौतमले अस्पतालको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । २१ वर्ष अघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो ।







