
चितवनः भरतपुर महानगरको शहरी क्षेत्र यतिखेर जलमंग्न भएको छ । केही वर्ष पहिलो भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारीले वडा अध्यक्ष निर्वाचित भए संगै केही उच्च घरानाका मतदाताको बाचा पुरा गर्नका लागि नहर पुरेर सडक वनाए । अहिले त्यही नहर नहुँदा जनताको घरमा पानी पसे पछि भने तिनै जनताले भण्डारीलाई नकारात्मक टिप्पणी गर्न थाले ।
भरतपुर महानगरपालिका वडा नम्बर १० हुँदै जाने नहर अहिले कुनै पनि ठाउँमा देख्न पाईदैन । कतै सडक कालोपत्रे भई सकेको छभने कतै भौतिक संरचना निर्माण गरि सकिएको छ । जसका कारण अहिले पानी सहरी क्षेत्रमा जलमग्न भएको देख्न सकिन्छ । जसले वडा अध्यक्ष हुँदा नहर पुरे तिनै अध्यक्ष अहिले नहर वनाउन आबश्यक रहेको भन्दै डोजर लिएर सडकमा उत्रिएका छन् । उहाँले भन्नुभयो “पहिला गल्ति गरियो । अहिले त्यसलाई सच्याउन लागेका छौ ।”
नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुवेका छन् । प्रतिनिधि सभाका सदस्यहरुले पनि नहर पुगेर कालोपत्रे निर्माण गरेका छन् । उनीहरुले बजेट नै बिनियोजन गरेर सडक निर्माण गरेका हुन् ।
ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक वहाव रोकिंदा पानी जम्ने समस्या आएको छ ।
नहरको कतिपय भाग पुरेर सडक बनाईएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाईएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुवानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाईने बताउनुभयो । एक मिटर चौडा र एक मिटर गहिराईको कुलो बनाएर पानीको निकास दिन आजबाट काम थालिएको उहाँको भनाई छ । दिर्घकालीन रुपमा यसै कुलोलाई व्यवस्थित गरेर निकास दिईने छ ।
त्यसैगरि पूर्बपश्चिम राजमार्ग र वाईपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाईने दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डुवान क्षेत्रमा व्यवस्थित ढल निर्माण गरी पूर्बपश्चिम राजमार्ग र बाईपासमा बनाईने ढलमा मिसाईने छ । पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ति भएको ठाउँमा ढलको व्यवस्था गरिने छ । त्यसलाई पनि केरुङ्गामा मिसाईने उहाँले बताउनुभयो । पानी भरिएका क्षेत्रहरुमा अध्ययन गर्ने काम भईरहेको भन्दै उहाँले यसबाट दिर्घकालीन रुपमा बन्ने संरचना निर्माणमा सहयोग पुग्ने जानकारी दिनुभयो ।
नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई. खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुवानमा परेको उहाँले बताउनुभयो ।
नारायणी लिफ्ट सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुवेको र खेतीयोग्य जमिनमा सिंचाई अभाव भएको बताउनुभयो । उहाँका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्ती लगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिंचाईमा समस्या हुने गरेको छ । रानाभाटले भन्नुभयो “नहर पुर्नुहुन्न भन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ ।” पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उहाँले गर्नुभयो ।
लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका ३ हजार ५ सय हेक्टर प्रत्यक्ष रुपमा सिंञ्चित गर्दै आएको छ । बि.सं. २०४० सालमा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिंचाईमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिंचाई गरिदैं आएको छ ।
वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नती गरेर हिउँदमा समेत सिंचाई गर्ने तयारी गरिएको छ । नारायणी नदीबाट पानी तानेर नहरमार्फत् सिंचाई गरिंदै आएको छ ।