चितवनः भरतपुर अस्पतालले कोरोना सङ्क्रमण भएका आठ जना गर्भवतीको सुरक्षित प्रसुती गराएको छ । अस्पतालको आइसोलेसनमा दुई जना गर्भवती उपचाररत रहेका छन् ।

सो अस्पतालले सङ्क्रमण भएका सुत्केरीहरुका लागि वेथा लाग्दा राख्ने देखि शल्यक्रिया गराउने सम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको बच्चाका लागि राख्न भेन्टिलेटर सहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्य संग सम्पर्क नहुने गरि व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सलट्यान्ट स्त्री तथा प्रसूती रोग विशषेज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार सङ्क्रमण पछि अस्पतालमा प्रसुती गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका बच्चामा सङ्क्रमण देखिएको छैन । हाल सम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उहाँको भनाई छ ।

सङ्क्रमित मध्ये तीन जनाको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो । जस मध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि सङ्क्रमण थाहा भएको हो । सापकोटाका अनुसार प्रसुती गरएका मध्ये ३ जना नवलपरासी, २ जना चितवन, गोरखा, सप्तरी र मकवानपुरका १÷१ जना रहेका छन् ।

अस्पतालको आइसोलेसनमा रहेकी एक जना गर्भवतीको शल्यक्रियाबाट बच्चा झिक्नुपर्ने हुन सक्छ भने अर्की गर्भवर्तीको बच्चा जन्माउने समय भएको छैन । अन्य उपचारका लागि उनी भर्ना भएको सापकोटाले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा हिजो आज दैनिक ३० जना भन्दा वढि महिलाको प्रसुती हुँदै आएको छ । अस्पतालले सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा उच्च साबधानीका साथ प्रसुती सहित उपचार गराउँदै आएको अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन सहित बिभिन्न जिल्लाहरुबाट यहाँ प्रसुती गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजार भन्दा वढिको प्रसुती यसै अस्पतालमा गराईन्छ । राजधानीको परोपकार प्रसुती गृह पछि धेरै बच्चा जन्माउने अस्पताल भरतपुर हो । अधिकारीले भन्नुभयो “सुरु देखिनै सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा साबधानी अपनाएर उपचार गरिएकाले निजीमा भन्दा सरकारी सुरक्षित ठानेर धेरै बिरामी आउने गरेका छन् ।” अस्पतालमा प्रसुती सेवा निःशुल्क छ । अस्पतालमा लामो समय यता वेथा लागेका देखि सुत्केरी गराउने सम्म काम गर्ने अनुभवी स्वास्थ्यकर्मी भएकाले प्रसुती गराउनेहरुको पहिलो गन्तव्य भरतपुर अस्पताल हुने गरेको छ ।
अस्पतालमा जन्मि सकेका वच्चालाई समस्या परेमा राख्नका लागि वाल सघन उपचार कक्षपनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस !