काठमाडौंः कोरोना संक्रमणका कारण दुई जिल्लाका तीन जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गरेका छन् ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।