चितवनः कोरोना संक्रमणको त्रास वढि रहेको समयमा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछि बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । हाल सम्म अस्पतालका १० जना नर्सिङ्ग कर्मचारी र ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
अस्पताका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारीहरु कोरोना (कोभिड १९) बाट संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालका कर्मचारी, भर्ना भएका विरामी र संक्रमितसंग सम्पर्कमा आएकाहरुको कोभिड १९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो । अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवाहरु सम्बन्धित विभागका ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल भर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् । बिभिन्न क्षेत्रबाट बिरामीहरु आउने भएकाले अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।