चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई पोल सहित ठूलो पहिरो खसेको छ ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलब ५ किलोमिटर दुरिमा पर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ । पहिरो पन्छाउनका लागि मुग्लिन तर्फबाट एउटा लोडर र नारायणगढ तर्फबाट एउटा लोडर र एउटा व्याकहु परिचालन गरिएको छ ।
भाडामा पाईएमा मुग्लिन तर्फबाट एउटा व्याकहु प्रयोग गर्नका लागि खोजि कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । थप वर्षा नभएमा दिनभरमा पहिरो सफा गरिसकिने उहाँले बताउनुभयो । पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको छ । सो सडकको अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भई सकेको भए पनि त्यस स्थलमा काम गर्न सुरु गरे लगत्तै पहिरो खस्न थालेको हो ।
अधिकारीका अनुसार सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसीरहेका छन् । डिभिजन सडक कार्यालयले नौबिसेमा एउटा लोडर र गजुरीमा एउटा लोडर र एउटा व्याकहु तयारी अबस्थामा राखेको छ । जहाँ पहिरो खस्छ तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भईरहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा दुई दिन यता निरन्तर वर्षा भईरहेको छ । सडक अबरुद्ध हुँदा अत्याबस्यक कामका लागि हिडेका यात्रु, बिरामी र सामाग्री बोकेका ट्रक बाटोमा रोकिएका छन् ।