चितवनः गत आर्थिक वर्षमा जिल्लामा भएका बिभिन्न दुर्घटनामा परि १ सय ७ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार २ सय ६१ वटा दुर्घटनामा परि उनीहरुले ज्यान गुमाएका हुन ।

ज्यान गुमाउनेमा ८८ जना पुरुष, १४ जना महिला र ५ जना वालक रहेका छन् । सोही दुर्घटनामा परि ४ सय ८६ जना घाईते भएका छन् । उनीहरु मध्ये १ सय ६५ जना गम्भिर र ३ सय २१ जना सामान्य घाईते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा ४ सय २१ वटा सवारीसाधन परेका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा दुर्घटनामा परि १ सय ४६ जनाले ज्यान गुमाएका थिए । जिल्लाको बिभिन्न स्थानमा भएका २ सय ९५ दुर्घटनामा परि ५ सय ५८ जना घाईते भएका थिए । उनीहरु मध्ये २ सय ३० जना गम्भिर र ३ सय २८ जना सामान्य भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो समयमा ४ सय ५३ सवारीसाधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा पर्नेमा ट्रक, ट्रिपर, बस, माईक्रोबस, जिप, ट्याक्टर, मोटरसाईकल, शारिरिक शक्तीबाट चल्ने साधन रहेका छन् । कोरोना संक्रमणको त्रासका कारण सरकारले गरेको लकडाउनले सडकमा सवारी नगुड्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दुर्घटनाको संख्यामा कमि आएको कार्यालयका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले वताउनुभयो । लकडाउनका कारण तीन महिना सम्म अतिआबश्यक सवारीका साधनहरुमात्र चलेकाले दुर्घटनाको संख्यामा कमि आएको हो । दुर्घटनामा कमी आए संगै मृत्यु हुनेको संख्यामा पनि कमी आएको उहाँले जानकारी दिनुभयो ।

यो संगै कार्यालयले दुर्घटना न्यूनिकरणका लागि बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो ।

लकडाउन संगै कार्यालयको राजस्व संकलनमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४० हजार सवारी कारवाहीबाट रु ३ करोड ७ लाख ६६ हजार ५ सय राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा रु २ करोड ३१ लाख ४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यस वर्ष ३० हजार ८ सय ५९ सवारी साधनलाई कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !