चितवनः चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै दश हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हाल सम्म तीन हजार तीन सय बिरुवा रोपि सकेको छ ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीवारीमा तीन हजार र बिपद व्यवस्थापन गण रसौलीमा तीन सय बिरुवा रोपि सकिएको छ । सिद्धि र शक्तिखोरको कबुलियती वन र खोरीयामा पाँच हजार भन्दा वढि बिरुवा रोप्ने तयारी गरिएको छ । मौरीपालक व्यवसायी संघ र सपना भिलेज इम्प्याक्ट संग सहकार्य गरेर नगरपालिकाले बिरुवा रोप्न थालेको हो ।
प्रमुख श्रेष्ठले चिउरीमा बहुआयामिक गुण भएकाले तिब्र रुपमा बृक्षारोपण गर्न लागिएको बताउनुभयो । चिउरीको फल खाने र बियाँबाट घ्यू समेत निकाल्ने गरिन्छ । मह मध्येमा चिउरीको चरनको मह सबै भन्दा उत्कृष्ठ मानिन्छ । उहाँले भन्नुभयो “यहाँका मौरीपालक कृषकलाई सहयोग पुगोस भन्ने उद्धेश्यले चिउरीको बृक्षारोपण थालिएको हो ।”
नेपाल मौरीपालक महासंघका अध्यक्ष शिब प्रसाद पौडेलले रोपिएका मध्ये सात हजार पाँच सय बिरुवा मात्र हुर्किएमा एक हजार पाँच सय गोलाका मौरीलाई चराउन पुग्ने बताउनुभयो । चरनको अभावमा यहाँका कृषकहरुले देशका १४ जिल्लामा मौरी लाने गर्दछन् । कालिका नगरपालिकामा मात्र ६ हजार गोला मौरी रहेको छ । पौडेलका अनुसार यो संख्या जिल्लामा २५ हजार र देशभरमा ७० हजार रहेको छ ।
यहाँका मौरी चिउरीमा चराउनका लागि दाङ्ग, अर्घखाँची र प्यूठान लगिन्छ भने अन्य जिल्लामा तोरी लगाएतमा चराउन लैजाने गरिएको छ । चिउरीका बिरुवा हुर्कन ८÷१० वर्ष लाग्ने गर्दछ । जिल्लाका पहाडी क्षेत्रमा चिउरीका रुख रहेका छन् । ती क्षेत्र चिउरीका लागि उपयुक्त मानिन्छ । नेपालमा मौरीपालन व्यवसायमा लाग्नेहरुको संख्या ७ हजार रहेको छ । गतसाल मेलिफेराको २ हजार ५ सय मेट्रिकटन र सेरानाको १ हजार मेट्रिकटन मह उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !