काठमाडौंः नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएको छ। सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी हुनुभएको थियो ।
छलफलमा दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउन सहमत देखिएको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्न सहमत भएका छन् । छलफलपछि एक नेताले, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्ने सहमति भएको छ । विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ ।
यसका लागि सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल हुने एक नेताले बताए। पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकआपसमा आशंका र दुरी बढ्दै गइरहेको छ । सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा आशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हटाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।






