काठमाडौंः नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१६ संक्रमित थपिएका हुन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३ र सोमबार ४७६ कोरोना संक्रमित फेला परेका थिए ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १९४ जना डिस्चार्ज भएका छन् । जसमा २७७ महिला दुई हजार ९१७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६० जना डिस्चार्ज भएका छन् । जसमा ९ महिला र ५१ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म दुई लाख २३ हजार ३६० जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९७ हजार ८७१ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ५३ हजार ७० मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ३४१ कोरोना संक्रमितहरु रहेका छन् ।
नेपालमा कोभिड–१९ बाट प्रत्येक १० लाखमा हुने मृत्युदर विकसित मुलुकहरु अमेरिका, जापान, बेलायत र चीनभन्दा कम रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । त्यसैगरी दक्षिण एसियामा कोरोना संक्रमणबाट हुने मृत्युदर प्रत्येक १० लाखमा बंगलादेश, भारत, अफगानिस्तान र पाकिस्तानभन्दा कम रहेको छ ।