
काठमाडौंः महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ ।
आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आज दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ ।
“कोरोनाका कारण पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा असर पर्यो । अब कार्यतालिका रि–राइट (पुनर्लेखन) गर्नुपर्ने निर्णय भएको छ,” पदाधिकारी बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, “पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा फागुन ७ मा कुनै हेरफेर नहुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका तय गरिन्छ ।”
तल्लो तहको अधिवेशनका लागि कार्यतालिका तय गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एकवर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका थिए ।
सभापति देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तय गरेपछि वरिष्ठ नेता पौडेलको समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाको समूह केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका थिए ।