चितवनः जिल्लको पूर्बी क्षेत्रमा सलह किरा देखिएका छन् । पूर्बी चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकामा सलह किरा देखिएका हुन ।
बाली बिरुवा खाएर सखाप पार्ने फट्याङ्ग्रा (सलह कीरा) को समूह देखिएको हो । यस किराले हरियो खेतीमा ठूलो क्षती पु¥याउने गर्दछ । झुण्डमा रहने भएकाले यसको प्रकोप ठूलो हुने गर्दछ ।
प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को दुई सय विगाह भन्ने स्थानको ९६ बिगाहमा र खैरहनी नगरपालिकाको पर्सामा किरा देखिएको हो । उहाँका अनुसार कालिका नगरपालिकामा आज विहान स्थानीयले गुलेलिले हानेर तर्साएपछि त्यहाँ रहेको सानो झुण्ड बन तर्फ गएको छ ।
सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र कालिका नगरपालिकाका कृषि प्राबिधिकहरुले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसै गरि शनिवार साँझ पूर्बी चितवनको खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राबिधिकहरुले गराएको उहाँले बताउनुभयो ।
तिमल्सेनाले जिल्लामा कहि देखिएमा तत्काल खवर गर्न अनुरोध गरिएको बताउनुभयो । यस संगै भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्ट फुट्ट देखिएको भन्ने जानकारी कृषि ज्ञान केन्द्रमा आएको जनाईएको छ ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालले आजै बागमती प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा छलफल गर्न लागिएको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र लगाएतका संस्थाका बिज्ञहरु र मन्त्रालयका उच्च अधिकारीका बिचमा यस विषयमा छलफल गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले यो मौषममा मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथासिघ्र काट्न, रोपाई भईरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका वेर्ना जोगाउन कृषकहरुलाई अपिल गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यो पनि बिपद संग जोडिने भएकाले सम्बन्धित कार्यालयका प्रमुखलाई किरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आबश्यक पर्छ भन्न निर्देशन दिईएको बताउनुभयो । प्रमुख ढकालका अनुसार मकवानपुर तिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको वताउनुभयो ।