चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत भरतपुर–हेटौडा सडक खण्डको सडक दस्तुर संकलन गर्ने गोन्द्राङ्गको टोलबुथलाई लोथर स्थानान्तरण गरिने भएको छ । सडक बोडको यही असार चार गते बसेको कार्यकारी समितिको बैठकले टोलबुथ स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
वोडका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतका अनुसार मनोहरी गाउँपालिका वडा नम्बर ६ लोथरमा टोलबुथ स्थानान्तरण गरिने छ । सो क्षेत्रमा उपयुक्त स्थानको तय गरि आवतजावत गर्ने दुबैलाई दस्तुर संकलन गर्ने गरि टोलबुथ राखिने उहाँले जानकारी दिनुभयो । लकडाउन पछि त्यस क्षेत्रको अध्ययन गरि वोलपत्र आव्हान गरेर ठेक्का लगाउने उहाँको भनाई छ ।
चालु आर्थीक वर्षमा सो ठाउँमा कर संकलनका लागि बार्षिक रु १५ करोड आउने गरि ठेक्का लगाईएको थियो । यस अघि मूल्य वृद्धि नहुँदा रु ६ करोड ५१ लाखमा ठेक्का लगाईएकोमा दोव्वर भन्दा वढि मूल्य वढाए संगै राजस्व संकलन वढेको उहाँले जानकारी दिनुभयो । त्यस अघि बार्षिक रु ४ करोड ५२ लाखमा ठेक्का लगाईएको थियो । बस्नेतले भन्नुभयो “म आउनु अघि बार्षिक रु २ करोड ५५ लाखमा लागेको ठेक्का गत वर्ष सम्ममा आईपुग्दा रु १५ करोड पुगेको थियो ।”
त्यहाँ संकलन भएको राजस्व सोही सडक मर्मत सम्भारमा खर्च हुने बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्रालय, सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय चितवनद्धारा अनुरोध गरिए पछि सिमा क्षेत्रमा टोलबुथ सार्न लागिएको हो । यसबाट मूख्यरुपमा पूर्बी चितवनका बासिन्दा प्रभाबित हुँदै आएका थिए । आँफ्नै जिल्लाको सदरमुकाम आवतजावत गर्दा समेत राजस्व तिर्नु पर्ने भए पछि उनीहरु मर्कामा परेको भन्दै प्रमुख राजनैतिक दलका जिल्ला नेतृत्व र जनप्रतिनिधिहरुले वुथ सार्न दवाव दिदै आएका थिए ।
गत वर्षको असार ३ गते बुथमा स्थानीयले आगो लगाए पछि त्यहाँ सुरक्षामा खटिएका प्रहरी घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !