
काठमाडौंः नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३९ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । ३० जना आइसोलेसनमा रहेको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले जानकारी दिनुभयो ।
उनका अनुसार कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, गुल्मीमा १, धनकुटामा २, बाँकेमा १, धनुषामा १०, सप्तरीमा ४, सिराहामा ३, सर्लाहीमा २, तनहुँमा २, रौतहटमा ४ महोत्तरीमा २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जुम्लामा २, जाजरकोटमा १, सुर्खेतमा १, दैलेखमा ९, कञ्चनपुरमा ३, बाजुरामा १, काठमाडौंमा १ र भक्तपुरमा एकजना गरी ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरी विभिन्न स्थानमा परिचालन हुनुपर्ने भएकाले संक्रमितको सम्पर्कमा पुग्दा कोरोना संक्रमण भएको हुनसक्ने डीआईजी शाही बताउँनुहुन्छ । उहाँले देशभर सकेसम्म प्राप्त स्रोत साधनको उपयोग र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिइएको बताउनुभयो ।