चितवनः भरतपुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको भरतपुर कोरोना बिशेष अस्पतालमा रहेका शौचालयहरु बिग्रिदै गएका छन् । जसका कारण अस्पतालमा उपचार गर्न आएका बिरामीहरु शौचालयको पानी माथी राखिएका शैयाहरुमा बस्न बाध्य भएका छन् ।
अहिले सो अस्पतालमा १८ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु मध्ये अधिकांश स्थानमा शौचालयको पानी वगिरहेको देखिन्छ । अस्पताल स्थापनाको समयमा कसैको सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले संक्रमित राख्ने समयमा समस्या देखिएको हो ।
७२ घटामा स्थापना गरिएको कोरोना अस्पतालमा ७२ जना बिरामीले सेवा लिन नपाउँदै शौचालय बिग्रने, पंखाले काम नगर्ने जस्ता समस्याहरु देखिएका हुन । कोरोना अस्पतालमा आर्थिक अनियमितता भएको र सामान चोरी भएको भन्दै काँग्रेसका जनप्रतिनिधिहरुले बिरोध जनाई रहेको समयमा अस्पताल भित्रको बिजोग बाहिरीएको हो । यसले पनि उनीहरुको आन्दोलनलाई थप बल पुगेको छ ।
अस्पताल निर्माणको समयमा २५ लाख रुपैंया खर्चिएर बनाईएको भनेर चर्चा पाएको शौचालय बिग्रिए संगै बिरामीलाई भरतपुर अस्पताल सार्ने तयारी गरिएको छ । अस्पताल हेर्दै आउनु भएकी डा. शान्ती भूर्तेलका अनुसार मर्मतका लागि काम गर्ने मानिस खोजिएको छ । अहिले दुईवटा क्याबिनमा शौचालयको पानी वगेर आईरहेको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले अस्पताल मर्मतका लागि बिरामी स्थानान्तरण गरि काम गरिने बताउनुभयो ।
यस बिषयमा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले अस्पताल निर्माणको समयमानै भएको लापरवाहीका कारण संक्रमितले दुःख पाएको वताउनुभयो । तत्काल लोकप्रियताका लागि स्थापना गरिएको भए पनि जनतालाई सेवा दिने समयमा सबै बिग्रियर जान लागेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !